https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh36VhsKbXtnSdelInLJUDaEfbUSOU5UkkwMvGLM0fuANvZKZ7ZSaoZ64jCxKK3zd5Y6SVpSO0H7pPKD6qHbyQYQnDPKQr-9ca8wFV5-ESOLzyA-sH5gT3KtAbtri3dVwJXjc7BOt4rhA/s1600/1.jpg लन्डनमा नेपाल जुरुक्क उठेको दिन ~ Maranthana Cricket Club (MCC)

Tuesday, July 19, 2016

लन्डनमा नेपाल जुरुक्क उठेको दिन






फडिन्द्र भट्टराई लन्डन

"रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो ... , दिनभर चिच्याउदा सुकेको गलाको बावजुत बेलायतका नेपाली युवा युवतीहरुका सुमधुर गुन्जिरहे १९ जुलाईको दिनभर विश्व प्रसिद्द लन्डनको लर्ड्स क्रिकेट मैदानमा।
"यो जित कसको नेपालको", ४७.२ ओभरमा एम सी सी अल आउट हुनासाथ हजारौ नेपाली हरु स्टेडियम उचाल्ने गरी सिंहनादमा उत्रिए। नेपाल ! नेपाल ! नेपाल ! बिहान ११ बजे देखी एकोहोरो चिच्याईरहेको बेलायतवासी नेपाली दर्शकहरुको भीड लण्डनको एम सी सी विरुद्दको नेपालको विजयसंगै उत्साह र उमंगमा निस्फिक्री उर्लियो। 'नेपाल' 'नेपाल'को शब्दमा एकनासको तालीको तरंगको ध्वनी संगीतले तरंगित नहुने दर्शक दीर्घामा सायदै कोही थियो होला।
लर्ड्स क्रिकेट मैदानको नर्थ गेट स्ट्यान्ड देखी माउन्ट स्ट्याण्ड सम्मका अनुहारमा नेपालको झण्डा पोतेर नेपालकै रातो टिसर्टमा सजिएका नेपालीहरुले दृश्यमा क्रिकेट मैदान लाई बिहानै देखी रंगाई सकेका थिए। खेल शुरु भए देखी आउट, नट आउट, रन, नो रन स्वर सरावा ठुलो, सानो रुपमा निरन्तर चली नै रह्यो। लन्डनमा क्रिकेट जित्दा छातीमा नेपाल टाँसेर देशप्रेमले ओतप्रोत हुनेहरु प्रशस्त भेटीए।
विजय पछी नेपाली क्रिकेट खेलाडी हरुले स्टेडियमको फेरो परिक्रमा गरे। दर्शक हरु अगाडी ओईरिए। पारस ...पारस , शक्ती.... शक्ती , सोमपाल..... सोमपाल सबै खेलाडीका नाम जप्दै भिड क्रेजी नै बनिरह्यो, निकैबेर र निरन्तर।
नेपाली खेलाडी हरु आफ्नै अगाडी बाट बिजय उत्सवमा मार्च पास हुदैगर्दा मेरो छेउका एक अधबैसे दर्शकले चस्मा खोलेर आँशु पुछे। सायद उनले खुशीमा मन थाम्न सकेनन।
जित पछी खेलाडीहरु पनि औधी खुशी देखिन्थे । एम सी सीले नै खेल समाप्ती पछी आयोजना गरेको रिसेप्सनमा बोल्दै नेपाली टिमका क्याप्टेन पारस खड्काले यो खेलले आफुहरुमा निकै उत्साह थपेको बताए।
"लर्ड्समा खेल्नु हाम्रो सपना थियो जुन पुरा भएको छ, अब हामी भविष्यमा यस्तै अरु म्याच खेल्ने अपेक्षा राख्दछौं ", खड्काले आयोजक एम सी सी र मैदानमा आफुहरुलाई समर्थन गर्न आईपुगेका बेलायतका नेपालीहरु लाई हार्दिकता टक्र्याए पछी भने।
खेलको पुर्वार्धको केही निरासा चिर्दै उत्तरार्ध तिर नेपालले पक्का जित्ने जस्तो देखिए पछी त लन्डनमा बिरलै भेटिने ३४ डिग्री तापक्रमको घमाईलो दिनमा रमाईलोको रापले कति ततायो ततायो यहाँका नेपालीहरु लाई। क्रिकेट ग्राउण्डको टुप्पोमा विशिष्ट तर शान्त मेडिया सेन्टर बाट हामीहरु पनि अघिनै तल ओर्लिसकेका थियौं।
जित पछी ग्राउण्डको फेरो मार्दा त्यस्तो भिडमा पनि फाटफुट दर्शकहरु संग सेल्फी लिन भ्याएकै थिए क्याप्टेन पारस खडकाले। सेक्युरिटीले पनि हर्षोल्लास देखेर होला खेलाडी हरुलाई दर्शकहरुलाई छुन र फोटो लिन समेत केही हदसम्म रिल्याक्स छोडीदिएको थियो।
विदेशी मेडियाका पापाराजी हरु पनि मेडिया सेन्टर बाट क्रिकेट मैदानमै भागदौड गर्दै थिए। एम सी सीका सपोर्टर जस्ता देखिने ईंगलिस हरुको समुहले पनि नेपालको जितमा निकैबेर उठेर तालि बजाए। अर्कोतर्फ नेपाली तर्फका नयाँ पुस्ता, पुराना पुस्ता क्रिकेट बुझ्ने नबुझ्ने सबै प्रफुल्लित थिए प्रथमत लर्ड्समा खेल्न पाएकोमा अनी त्यसमाथी जित्न पनि पाएकोमा।
नेपालको विकेट जाँदा पनि झुक्किएर ताली बजाएका किस्सा सुनाउदै क्रिकेट थोरै बुझ्नेलाई धेरै बुझ्छु भन्नेले गिल्ली उडाएका संवाद पनि उत्तिकै रोचक थिए दर्शक दीर्घामा।
एम सी सीको आयोजनामा हुने पोस्ट म्याच रिसेप्सनको तयारी गर्दै ग्राउण्ड बन्द भएसंगै बेलायतका बिभिन्न शहर हरुबाट लन्डन आएका नेपालीहरु आ आफ्ना समुहमा आ आफ्ना दिशा तर्फ निकै खुशी मन बोकेर फर्किएका देखिए।
बिहानै देखी ईंगल्याण्ड, स्कटल्याण्ड, आयरल्याण्ड र वेल्स्का बिभिन्न शहरहरुमा बस्ने नेपालीहरु समुहगत रुपमा लन्डन आइपुगेका थिए। "हिजो राती स्कटल्याण्डबाट हिडेको बिहान पांच बजे नै आइपुगियो केको सुत्नु! "स्कटल्याण्डको काउडेनविथ बाट नौ घन्टाको ड्राइभ पछी आईपुगेका अरुजस्तै फुर्तीला देखिने माधवले भने।
लर्ड्स पुग्ने लन्डन बेकर स्ट्रीट लगायतका तीन अन्डर ग्राउण्ड ट्रेन स्टेशन र बस स्टप देखी नै नेपाली स्वयं सेवक हरु खटिएका थिए।
"तपाईकै स्वयंसेवकले ट्रेन स्टेशन देखी बाटो बताइदिएर आएका हौँ ", गेटमै उभिएका कृष्ण प्रसाद शर्मा लाई हाम्रो समुहको साथीले उनको जिम्माको कामको कदर गर्दै बोलेको अभिव्यक्तीले उनको मुहारमा मुस्कान ल्याएको थियो। बिहान दश बजे भित्रकै रश आवरमा लर्ड्स वरपरका क्षेत्रमा नेपालीहरु सलबलाउदा मिनी नेपालको झल्को भन्नेहरु धरै भेटिएका थिए। रेल बस र गाडीको यात्राका दृश्य चित्रहरुले सामाजिक संजाल बिहानै देखी रंगिएको थियो। खेलको दौरान र जित पछेका सेल्फी, वेल्फी र हाते लाईभ त कति कति!
बेलायतको प्रथम गुल्मेली नौमती बाजाले दिउँसोको ब्रेकमा धमाका मच्चायो। एन आर एन का प्रमुख संरक्षक जीवा लामिछाने नौमतीमा नाच्दै गर्दा भेटीए। 'माहोल जो यस्तो छ', उनले आफ्नो नाचको औचित्य प्रस्ट्याए। 'आजकै गौरवपूर्ण खेलकै लागी रोकिएको हुँ, भोलि बिहानै फर्किदैछु ", उनले बेलायत बसाई तन्काउनुको कारण पनि खोले। लर्ड्स भित्रैको प्रांगणमा गुन्जेको नेपाली नौमती बाजाको स्वरले स्वेत बेलायतीहरु अचम्मित देखिन्थे। ब्रेक टाईमको दौरान खेल मैदानमा ब्रिगेड अफ गोर्खाजले आफ्नो प्रस्तुती देखायो।
"दिस ईज वन अभ माई ह्यापीएस्ट डे इन द युके", तीसौं बर्ष देखी बेलायतमा बस्दै आएका डा. राघव धितालले नेपालको जित पछी हामी संगको गफगाफमा भावुक बन्दै भने।
"सिक कल गरेर काममा बिदा हानेर आईयो, आएर आए जस्तै भयो निकै रमाईलो भयो", दुवै गालामा नेपाल पोतेकी रातै टिसर्ट वाली एक युवतीले खेल पछीको कुराकानीमा भनिन। नयाँ पुस्ताका नेपाली युवा युवतीहरु निकै धैर्य र संयमता पुर्वक खेलको आनन्द लिदै नेपाली खेलाडीको हौसला बढाउन तल्लिन देखिएका थिए दिनभर।
आयोजक एम सी सी निकै हस्पिटेबल पनि देखियो। खेलपछीको जलपानमा बोल्दै एम सी सीका पदाधिकारी हरुले विकासोन्मुख नेपाली क्रिकेटको प्रशंशा गरे। नेपाल लाई लर्ड्समा स्वागत गर्न पाउदा निकै खुशी लागेको उनेहरुले बताए। बिगत दुई बर्षको प्रयासको फल स्वरूप आजको नेपाली क्रिकेट हुन सकेको उनीहरुको कथन थियो। रिसेप्सनकै बखत नेपाली खेलाडीहरु लाई एम सी सीको तर्फ बाट उपहार समेत प्रदान गरिएको थियो। खेलबाट संकलित बिस हजार पाउण्ड गोर्खा वेलफेयर ट्रस्ट मार्फत नेपालमा खर्चिने जानकारी समेत पोस्ट म्याच कार्यक्रममा दीईएको थियो।
लर्ड्समा नेपाली क्रिकेट ल्याउने पहल कदमीमा भूमिका खेलेको भन्दै रिसेप्सन प्रोग्राममा मन्तब्य राख्नको लागी निम्त्याईएका प्रशान्त कुँवरले खेल आयोजना गर्ने एम सी सी र खेल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली समुदायमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा उपस्थित एम सी सी पदाधिकारी तथा खेलाडीहरुले खेल हारेको कुनै अनुभुती नै देखाएनन बरु नेपाल र नेपाली क्रिकेटको हार्दिक प्रशंशा मै समय खर्चिए। ड्रेस कोड सहितको औपचारिक रिसेप्सनको अनौपचारिक गफगाफमा कति छिट्टै सुटेड बुटेड बनिसकेका नेपाली खेलाडीहरु कत्ती पनि थकित देखिएनन।
"दर्शक हरु धेरै खुशी की तपाईहरु ?" खेलपछीको जलपानमा क्याप्टेन पारस संगको एकल कुराकानीमा मैले उनलाई सोधेको थिएँ। "सबै खुशी , किनकी हामी सबै नेपाली ",नेपाल बाहिरको खेलमा सायद सबै भन्दा धेरै नेपाली समर्थकहरुको उपस्थिती भएको अहिले होला भन्दै उनले कृतज्ञताको स्वरमा भने। "इट्स अमेईजिंग एण्ड सुपर्ब फीलींग " छोटोमा कुराकानीको बिट मार्दै उनले भने। सोही बखतको भेटमा हामीसंग कुरा गर्दै नेपाली टोलीका कोच जगत टमाटाले पनि यो खेल पछी नेपाली क्रिकेट लाई हेर्ने दृष्टीकोण र आगामी म्याचको लागी हौसला दुवै थपेको भन्दै खुशीकै स्वर थपे।
बेलायतको नेपाली समुदाय लाई उल्लेख्य रुपमा खेल मैदानमा उतार्न सकृयता पुर्वक लागेको नेपाली दुतावास बेलायत, एन आर एन युके तथा अन्य सामाजिक संघ संस्थाका पदाधिकारी हरुपनि सफलतामा निकै खुशी देखिए। सामाजिक संजाल मार्फत प्रचार प्रसार तथा आयोजनामा जुटने नेपाली युवाहरु एभरेस्ट गौतम, दिपक श्रेष्ठ, गणेश खड्का, राजन खकुरेल लगायतका युवाहरु पनि आफ्टर म्याच रिसेप्सनमा रिल्याक्स मुडमै भेटीए।
लर्ड्समा क्रिकेट खेल्न पाउनुलाई आफ्नो ड्रिम सम्झिने खेलाडी र यो अवसरलाई नेपालको गौरवको रुपमा बुझेर लन्डन हानिएका दर्शक हरु सबैलाई यहाँ खेल्न पाउनु नै आफैमा ठुलो कुरा थियो। खेल नै जितेपछी त सबैले भने जस्तै 'सक्की गो नी "!
अन्तत नेपाल एम सी सी संग लन्डनको लर्ड्समा खेल्यो, जित्यो अनि नेपालको नाममा ईतिहांस रच्यो!
Share:

0 comments:

Post a Comment

नेपाली टेलीभिजन

NAGARIK NEWS

समाचारपत्र

अन्नपुर्ण

Featured Post

Photo Gallary